आत्महत्याबारे जिम्मेवार रिपोर्टिङका लागि सुझाबहरू


आत्महत्याबारे जिम्मेवार रिपोर्टिङका लागि सुझाबहरू

आत्महत्याको घटनाबारे तपाईंले सम्प्रेषण गर्ने सही समाचारले आत्महत्याको जोखिममा भएको व्यक्तिको ज्यान जोगाउन सक्छ भने गलत समाचारले त्यस्ता घटनाको निम्ति थप दुरुत्साहन गर्न सक्छ ।

 

आत्महत्याका घटनाबारेको समाचार संप्रेषण गर्दा

के गर्ने ?

  • आत्महत्याको सोच आउँदा कहाँ र कसरी मदत पाउन सकिन्छ भनेर प्रष्ट उल्लेख गर्ने; जस्तै नेपालमा आत्महत्या रोकथामका लागि राष्ट्रिय हटलाइन ११६६ २४सै घण्टा उपलब्ध छ,
  • आत्महत्याको बारे भ्रम चिर्नेगरी त्यसका तथ्यहरु तथा रोकथामका उपायहरुका बारे जानकारी दिने,
  • दैनिक जीवनका तनावहरु झेल्ने तरिकाहरु र आत्महत्याका सोचको व्यवस्थापनका उपायहरुबारे जानकारी दिने,
  • नाम चलेका / प्रख्यात व्यक्तिहरुको आत्महत्याका बारे रिपोर्टिङ गर्दा विशेष सावधानी अपनाउने,
  • शोक सन्तप्त परिवारजन तथा साथीभाईसँग अन्तर्वार्ता लिँदा विशेष सावधानी अपनाउने र करुणापूर्वक कुरा गर्ने,
  • आत्महत्याको बारे रिपोर्टिङ गर्दा आफैँ पनि प्रभावित हुन सकिन्छ भन्ने कुराको सदैव ख्याल राख्ने,
  • आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन- ११६६

आत्महत्याका घटनाबारेको समाचार संप्रेषण गर्दा

के नगर्ने ?

  • आत्महत्याका समाचारलाई पत्रपत्रिका तथा वेबसाइटमा महत्वपूर्ण स्थान नदिने र त्यस्ता खबरहरुलाई बारबार नदोहोर्याउने,
  • सनसनीपूर्ण शीर्षक नराख्ने,
  • आत्महत्यालाई सनसनीपूर्ण बनाउने वा सामान्यीकरण गर्ने वा यो समस्याको हल गर्ने एक तरिका हो भन्ने खालका संदेश जाने भाषा बिल्कुल प्रयोग नगर्ने,
  • आत्महत्याको तरिका, साधन, स्थान आदिका बारे प्रष्ट खुलाएर वा विस्तृतमा नलेख्ने,
  • आत्महत्याको घटना तथा परिवेशसँग सम्बन्धित फोटो, भिडियो वा सामाजिक संजालका लिंकहरू प्रयोग नगर्ने,
  • आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन- ११६६

आत्महत्याका घटनाबारेको समाचार संप्रेषण गर्दा भाषाको प्रयोगमा ध्यान दिनुपर्ने कुराहरू :

  • रिपोर्टिङ गर्दा भाषाको प्रयोगमा विशेष सावधानी अपनाउने,
  • “आत्महत्याबाट मृत्यु” वा “आफैँले आफ्नो ज्यान लिएको” जस्ता शब्दावली प्रयोग गर्ने,
  • त्यसको सट्टा “आत्महत्याको प्रयास”, “आत्महत्या” वा ” आत्महत्याबाट मृत्यु” जस्ता शब्दावली प्रयोग गर्ने,
  • अपराध गरेको वा सफलता प्राप्त गरेको जस्तो संदेश प्रवाह गर्ने “आत्महत्या गरेको” वा “सफल आत्महत्या” जस्ता शब्दावली प्रयोग नगर्ने,
  • “सफल आत्महत्या” वा “असफल आत्महत्याको प्रयास” जस्ता शब्दावली प्रयोग नगर्ने,
  • आत्महत्या रोकथामका निम्ति राष्ट्रिय हटलाइन- ११६६

आत्महत्याका घटनाबारे सामाजिक संजालमा पोष्ट गर्दा ध्यान दिनुपर्ने कुराहरू

  • आत्महत्याका घटनाको विस्तृत विवरण नराख्नुहोस् !
  • त्यस्ता व्यक्तिको, घटनाको फोटो, भिडियो वा त्यस्ता अन्य सामग्री नराख्नुहोस् !
  • घटनाको बारे सनसनीपूर्ण शीर्षक वा भाषा राखेर पोस्ट गर्ने कार्य नगर्नुहोस् !
  • आत्महत्याबाट मृत्यु वरण गरेका व्यक्तिको तथा शोक सन्तप्त परिवारको गोपनीयता र आत्मसम्मानको विशेष ख्याल राख्नुहोस् !
  • ” सफल आत्महत्या” वा “असफल आत्महत्याको प्रयास” जस्ता शब्दावली प्रयोग नगर्ने,
  • आत्महत्याबाट मृत्यु वरण गरेका व्यक्तिका बारे “कातर”, “लाछी”, “गलत काम गर्यो” वा “ठीकै गर्यो” जस्ता टिकाटिप्पणी गर्न वा लान्छनाजन्य भाषाको प्रयोगबाट टाढै रहनुहोस् !
  • आत्महत्याको रोकथामका निम्ति त्यस्ता सोचाई भएका व्यक्तिले परामर्श लिनको लागि २४ सै घण्टा राष्ट्रिय हटलाइन ११६६ उपलब्ध छ, त्यसैले यो नम्बरको बारे सबैलाई जानकारी दिनुहोस् !